काठमाडौँ – आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि अर्थ मन्त्रालयका शाखा अधिकृतदेखि उच्च तहका कर्मचारी समेत लागिपरेका छन् ।
बजेट निर्माणमा संलग्न अधिकारीलाई सकेसम्म मोबाइल फोन प्रयोग नगर्न, गर्नै परे पनि सूचना बाहिर नजाने गरी मात्रै प्रयोग गर्ने गरेका छन् । बजेट निर्माणमा प्रत्यक्ष संलग्न कर्मचारीले त मोबाइल स्वीच अफ नै गर्न थालेका छन् । उनीहरुले गफ नै गर्नुपरे पनि ल्याण्ड लाइनमा मात्रै कुरा गर्ने गरेका छन् ।
राजनीतिक तहबाट बजेट कुन आधारमा कसरी बनाउने भन्ने विषयमा स्पष्ट निर्देशन प्राप्त नभएपनि अर्थमन्त्री डा युवराज खतिवडाले बजेट निर्माणको तयारी थालेका छन् । उनले कर्मचारीलाई अनावश्यक हल्ला नगर्न, सूचना बाहिर नदिन समेत सचेत गराएका छन् ।
चालु आवको बजेटको कार्यान्वयनको अवस्था दुरुहपूर्ण रहेको अवस्थामा कामकाजी र कार्यान्वयन हुने खालको बजेट बनाउनुपर्ने दबावमा अर्थमन्त्री परेका छन् । राजश्व र खर्चका लागि तय गरिएका सीमा नै नपुग्ने अवस्थामा बजेट कुन आकारमा कसरी तय होला भन्ने चासो व्यक्त गरिएको छ ।
सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले भने सामाजिक सुरक्षा भक्ताको वृद्धि लगायत सरकारको पछिल्लो एक वर्षको असफलतालाई छोप्ने तवरले बजेट ल्याउन दबाव दिएका छन् ।
दुई तिहाई प्राप्त सरकारको गतिविधि र कार्यशैली प्रभावकारी नभएको भन्दै १४ महिनाको अवधिमा आलोचनाको मात्रा बढेको छ । आलोचना बढेपछि सरकारको असफलतालाई समेत ढाकछोप गर्ने गरी बजेट ल्याउनुपर्ने दबावमा सरकार पनि छ । तर यही कार्यशैलीले भने सरकार सफल हुने सम्भावना भने कम रहेको छ ।
प्रतिक्रिया