काठमाडौं– एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा कुरा नमिलेपछि बैशाख ९ गते पार्टी एकता घोषणा नहुने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टी एकता गर्न कार्यदलमा सहमति नजुटेका तीनवटा विषयमा छलफल भएपनि सहमति नजुटेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनले विवादित विषयमा सहमति नभएपछि बैशाख नौ गते हुने भनिएको पार्टी एकता घोषणा टरेको बताए ।
श्रेष्ठका अनुसार विवादित विषय टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिइएको छ ।
‘दुबै प्रतिवेदनलाई अन्तिम रुप दिन र परिमार्जन गर्ने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । अब दुई अध्यक्षको वान टु वान बैठकबाट ती विषयलाई टुंगो लगाइने भइको छ।’
एमाले महासचिव इश्वर पोखरेलले एकताका विषयमा खासै विवाद नदेखिएको दाबी गर्दै पार्टीमा कसको कति प्रतिनिधित्व रहने भन्दा पनि सक्षम नेतृत्व र सक्षम पार्टी बनाइने बताए ।
उनले चुनाव चिन्हको विषयमा खासै विवाद नभएको दाबी गर्दै विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा छलफल गर्न सकिने बताए ।
प्रतिक्रिया