टानमा ५० लाखभन्दा बढि अनियमितता भएको खुलासा, महासचिव र कोषाध्यक्षमाथि लाग्यो यस्तो आरोप

७ बर्ष अगाडि

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मा ५० लाखभन्दा बढि भ्रष्ट्राचार भएको भन्दै टान सदस्यले तीब्र आक्रोश पोखेका छन् । 

मंगलबार नेपाल पर्यटन बोर्डमा पछिल्लो समय पदयात्रा क्षेत्रमा देखिँदै गएको तमाम समस्याको निकास खोज्न र आगामी रणनीति तय गर्न भन्दै अध्यक्षले डाकेको भेलामा सो बिषय बाहिर आएको हो ।
करिब १८ सय सदस्य रहेको टानमा कार्यसमिती आबद्ध पदाधिकारी र केन्द्रीय सदस्यलगायत करिब २ सय जना भेलामा उपस्थित थिए । 

कार्यक्रम सुरु हुनेबित्तिकै टान सम्बद्ध एक सदस्यले टानमा महासचिव आङ्तेम्बा शेर्पा र कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाको दादागिरी बढेको,  टिम्सबापतको रकम आफूखुसी पटक–पटक झिक्ने र राख्ने गरेको, विदेश भ्रमणका क्रममा कार्यसमिति भित्रकै सदस्यले बुझाउनुपर्ने शुल्क नबुझाएको, अध्यक्ष हुँदाहुँदै उनकै शिरमा टेकेर महासचिवले गाईड तालिमका लागि कार्यसमिती समेतलाई थाहा नदिई निरंकुश ढंगले अघि बढेको भन्दै आक्रोस पोखे । 

यसमा महासचिव र कोषाध्यक्षले एकएक गरी उत्तर दिनुपर्ने भन्दै सदस्यहरुले चर्को आवाज उठाएपछि सभाहल केहीबेर द्धन्द्धतर्फ उन्मुख भयो । कोषाध्यक्ष तिमल्सिनाप्रति लक्षित गर्दै सदस्यहरुले काठमाडौंमा कसरी घर बनाएको, गाडी कसरी चढेको भन्दै प्रश्न समेत गरेका थिए । सदस्यहरुको चर्को असन्तुष्टीपछि कोषाध्यक्ष रामकृष्ण तिमल्सिनाले आफूले फुटेको कौडी पनि हिनामिना नगरेको भन्दै कार्यसमिति सदस्यहरुलाई पूर्वाग्रही नबन्न आग्रह गरे । 

भेलामा ५० लाख हिनामिना गरेको र हिसाब देखाउन पदाधिकारी र सदस्यहरुले दिएको चुनौती उनले पार गर्न सकेनन् । यता तिमल्सिनाले आफूले भेलामा उहाँहरुले सोध्नुभएको प्रश्नको जवाफ विधि पुर्याएर दिएको दावी गरे । उनले भने, ‘व्यवसायीहरुले टानको समस्याको बारेमा राम्रो–राम्रो कुरा उठाउनुभयो । तर, व्यक्तिगत आक्षेप लगाउनुभयो । यसमा दुःख लागेको छ ।’  
त्यसपछि पालो आयो टान महासचिव आङ्तेम्बा शेर्पाको । कार्यक्रम चलाईरहँदा टानले हालसम्म गरेका सकारात्मक कार्यको चर्चा गर्ने कोशिस गरे, तर उपस्थित सदस्यहरु महासचिवका चिल्ला कुरा सुन्न तयार थिएनन् ।

पदाधिकारीले गरेको राम्रो काम पनि नदेख्ने भन्दै आलोचनात्मक आक्रोस पोखे । उनले टानलाई मजबुत बनाउनुछ भने उपाध्यक्ष र सचिव लगायतका विरोधी पदहरु हटाउनुपर्ने भनेर उत्तेजक टिप्पणी गरेपछि सभाहलमा कोलाहल मच्चियो । तिनै पदाधिकारीले महासचिव बोलिरहँदा सिमाभन्दा बाहिर जाने तपाई को हो भन्दै जंगिएर मञ्चमा उक्लिएर माइक खोसे । त्यसपछि परिस्थतिले झडपको स्थिति सिर्जना हुने भएपछि घटना सामसुम पारियो ।  

यस विषयमा टानका अध्यक्ष नवराज दाहालसँग सम्पर्क गर्दा सामान्य विवाद भएको उनले स्वीकारे । उनले भने, ‘आफूले नै भेला डाकेको भेलामा महासचिव र कोषाध्यक्षमाथि सदस्यहरुले रकम हिनामिना गरेको आरोप लगाएको सत्य हो ।’

महासचिव र कोषाध्यक्षले रकम हिनामिना गरेको हो भन्ने प्रश्नमा उनले भने, ‘रकम हिनामिना भन्दा पनि प्रक्रिया पूरा नगरेर खर्च चाहिँ भएको हो ।’ टानको आउँदो सेप्टेम्बरमा निर्वाचन हुँदैछ ।

७ बर्ष अगाडि

प्रतिक्रिया