काठमाडौं– राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की दिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लिङ्देनलाई केही दिनअघि फोन गरेर एक अपरिचित व्यक्तिले पैसा मागेका थिए । लगत्तै उनलाई म्यासेज आयो, म्यासेजमा लेखिएको थियो, ‘५० लाख नदिए ज्यान जाला !’
यसरी सांसदलाई ५० लाख फिरौती नदिए ज्यान मार्ने धम्की दिने झापाका तिलकदास पराजुली र हुम्लाका प्रदीप रोकायालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले जानकारी दिए । उनीहरु राजधानीको नयाँ बसपार्कबाट पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकामाथि अनुसन्धान भइरहेको जनाएको छ ।
सोमबार ट्वीटरमा राजेन्द्र लिङ्देनले भनेका थिए , ‘के कसैले पचास लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ? के मलाई गोली हनाउन पचास लाख खर्च गर्ने कोही होलान् त ? के कसैले गोली ठोक्ला कि भनेर राजेन्द्र लिङ्देन बाटो छोडेर हिँड्छ भनेर कसैले सोचेको होला ? के निर्धारित मिति भन्दा एकैक्षण पर बाँच्ने ताकत कसैसँग होला? ’
प्रतिक्रिया