वायु सेवा निगमका जहाज जापान जाँदै, यस्तो हुनेछ नेपालीलाई फाइदा

७ बर्ष अगाडि

काठमाडौँ – नेपाल वायुसेवा निगमको जापान उडान सुनिश्चित भएको छ ।

जापानको ओशाका अन्तराष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ तारिखदेखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ । जापान उडानका लागि सम्पूर्ण कागजात आज जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई बुझाइएकाले उडान सुनिश्चित भएको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

काठमाडौँ–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ बजेको उडान पाएको छ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान केही समय लम्बिएको थियो ।

निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नुपर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तराष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ ।

ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाएको छ ।  

नारिताका लागि पनि साताकोे तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाको रहेको छ भने ओसाका–काठमाडौँ उडान समयावधि साढे सात घण्टाको हुनेछ ।

निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको बताएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया