काठमाडौँ – जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ ।
मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई डेमोक्र्याटिक वाकाथनु नाम दिइएको थियो ।
लौहपुरुष गणेशमानलाई आदर्श मान्ने विभिन्न पेशाकर्मी, व्यवसायी, विद्यार्थी, कलाकार, खेलाडीहरु पदयात्रामा सहभागी भएका थिए । उनीहरुले गणेशमान सिंहको तस्वीर अंकित टिसर्ट र क्याप लगाएका थिए ।
कांग्रेस नेता एवम् गणेशमान पुत्र प्रकाशमान सिंहले कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा केकी अधिकारीले गणेशमान सिंहले प्रजातन्त्र स्थापनामा गरेको योगदानको स्मरण गर्दै भनिन्, गणेशमान सिंहको कारण अहिले हामी यहाँ छौं ।
प्रजातन्त्र पुनस्र्थापनाका लागि ०४६ चैत २४ बाट सुरू गरिएको आन्दोलनको सम्झनामा जनआन्दोलन दिवस मनाउने गरिन्छ । जुन आन्दोलनको अगुवाइ तत्कालीन कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । त्यही आन्दोलनले ०१७ मा राजा महेन्द्रले खोसेको प्रजातन्त्र पुनस्र्थापना गरेर पञ्चायतलाई बिदा गराएको थियो ।






प्रतिक्रिया