रामेछाप – दोरम्बा गाउँपालिकाको डाँडाकटेरीमा सशस्त्र जनयुद्धमा शहीद भएका २१ शहीदको अर्धकदको सालिक निर्माण गरिने भएको छ ।
विसं २०६० साउन ३२ गते दोरम्बामा बैठक बसिरहेको घरलाई कब्जामा लिएर सेनाले तत्कालीन माओवादी रामेछापका जिल्ला प्रमुख बाबुराम तामाङसहित २१ को सामूहिक हत्या गरेको थियो ।
डाँडाकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा चिनाउन गाउँपालिकाले पनि कार्यक्रम अगाडि बढाएको अध्यक्ष कमानसिं मोक्तानको भनाइ छ । सांसद श्यामकुमार श्रेष्ठले डाँडाकटेरीको विकासका लागि आफू लागिपरेको उल्लेख गर्दै घटनास्थलमा समाधिस्थल निर्माण गर्न बजेट उपलब्ध गराउन पनि भूमिका निर्वाह गरेको बताउनुभयो ।
दोरम्बा हत्याकाण्ड भएको स्थान डाडाँकटेरीको विकास गर्नका लागि शहीद स्मृति प्रतिष्ठान नै दर्ता गरेर काम अगाडि बढाइएको छ । प्रदेश नं ३ सरकारले अर्धकदको सालिक निर्माण गर्न रु २० लाख बजेट उपलब्ध गराएको दोरम्बा शहीद प्रतिष्ठनका अध्यक्ष धनबहादुर तामाङले जानकारी दिनुभयो ।
सालिक निर्माणको काम प्रतिष्ठानमार्फत गरिने पनि उहाँले जानकारी दिनुभयो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको पहलमा सालिक निर्माण गर्न बजेट विनियोजन भएको हो । गाउँपालिकाले पनि हत्याकाण्ड भएको स्थानको विकासका लागि काम अगाडि बढाएको छ ।
यसअघि डाँडाकटेरीमा शहीद स्मृति समाधिस्थल निर्माण भइसकेको छ । करीब दुई रोपनी जग्गामा निर्माण गरिएको समाधिस्थलको पर्खाल लगाउने र प्रवेशद्वार निर्माण गर्ने काम सम्पन्न भएको छ । गाउँपालिकाले समाधिस्थलमा रु आठ लाख लगानीमा ट्रष्ट निर्माण गर्न लागिएको छ ।
त्यसैगरी गाउँपालिकाले डिपिआरका लागि रु दुई लाख छुट्याएको वडा नं २ का अध्यक्ष खड्गबहादुर श्रेष्ठले जानकारी दिनुभयो । सो हत्याकाण्ड भएको १५ वर्षपछि डाँडाकटेरीमा शहीदका अर्धकदको सालिक निर्माण हुन लागेको हो । चौबिस इञ्च अर्धकदको सालिक राखिने अध्यक्ष तामाङले बताउनुभयो । उहाँका अनुसार आगामी साउन ३२ गते स्मृति दिवसका अवसरमा उद्घाटन गर्ने कार्यक्रम छ ।
गाउँपालिकाका प्रवक्ता अम्बिकाप्रसाद गजुरेलले डाँडाकटेरीको विकासका लागि आफूहरु लागिपरेको बताउनुभयो । गत वर्ष दोरम्बामा भएको कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोरम्बाको डाँडाकटेरीलाई युद्ध पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । उक्त हत्याकाण्डको स्मरणमा हरेक वर्ष श्रद्धाञ्जलिसभाको आयोजना गरिँदै आएको छ ।
विकासलाई गति दिँदै नगरपालिका:
रामेछाप नगरपालिका शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै विकासको कामलाई गति दिन अघि सरेको छ । नगर प्रमुख नरबहादुर थापामगरको अध्यक्षतामा नगरपालिकाको वडा नं ८ भंगेरीमा सम्पन्न चौँथो नगरसभाले सोचेअनुसार विकासका कामले गति नलिएको ठहर गर्दै गुरुयोजनाबमोजिम आगामी दिनमा कामलाई गति दिने निर्णय गरेको छ ।
नगर प्रमुख मगरले नगरकोे विकास बजेट रु १५ करोड ३२ लाख ७६ हजारमध्ये रु तीन करोड ८३ लाख २८ हजार २९३ अर्थात् २५ प्रतिशत रकम खर्च भएको बताउनुभएको छ । नगरको चालू खर्च रु छ करोड ९५ लाखमध्ये रु दुई करोड ९२ लाख ५८ हजार ५९५ अर्थात् ४२ प्रतिशत रकम खर्च भएको छ । पूँजीगत खर्चतर्फ रु एक करोड पाँच लाखमध्ये रु ६६ लाख ५१ हजार ९८२ अर्थात् ६३ प्रतिशत खर्च भइसकेको आयव्यय विवरणमा उल्लेख छ ।
नगरपालिकाले एक वर्षको अवधिमा आन्तरिक आयबाट रु २३ लाख राजश्व उठाउन सफल भएको छ । पर्याप्त र दक्ष जनशक्तिको अभावमा सोचेअनुसार काम गर्न नसकेको नगरप्रमुख मगरले स्वीकार गर्नुभयोे । उहाँले समृद्धिका लागि सबै एक भएर लाग्न नगरवासीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया