पिउने पानीमा दिसामा पाइने जीवाणु

७ बर्ष अगाडि

काठमाडौँ–शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । 

कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । 
विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ । 
कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, “कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।” 
उनका अनुसार विभागले जार तथा बोटलमा पानी विक्री वितरण गर्ने उद्योगको मात्रै अनुगमन गरेर त्यसको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्ने गरेको छ । 
पछिल्लो आठ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमूना संकलन गरी परीक्षण गरेको थियो । जसमध्ये नौ वटा उद्योगले विक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइएको छ । यस्तै, बाँकी छवटा उद्योग मापदण्ड विपरीत र ऐन नियम विपरीत सञ्चालन भएको पाइएको छ ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया