म्याच फिक्सिङ गर्ने खेलाडीलाई ६ बर्षसम्मको कैद

६ बर्ष अगाडि

काठमाडौँ – सरकारले म्याच फिक्सिङ गरी अनियमितता गर्नेविरुद्ध कडा सजायसहितको व्यवस्था प्रस्ताव गरिएको छ ।

सरकारले यसअघिको खेलकुद विकास ऐन २०४८ लाई परिमार्जन गरी ल्याउन लागेको खेलकुद विकास ऐनमा २०७५ मा त्यस्तो व्यवस्था गर्न लागेको हो । यस्तो व्यवस्था देशभित्र हुने खेलकुद प्रतियोगिता र देशबाहिर हुने प्रतियोगिताका हकमा समेत लागु हुने व्यवस्था गरिएको छ ।

म्याच फिक्सिङ गरेको पाइएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैंयासम्म जरिवाना गर्ने र त्यसरी लेनदेन भएको रकम जफत गर्ने व्यवस्था समेत ऐनमा गरिएको छ । त्यस्तो कसुर यदि नेपालको प्रतिनिधित्व गरी विदेशमा गरेको पाइएमा उसलाई थप ३ हुने गरी ६ वर्ष सम्म कैद गर्ने व्यवस्था समेत ऐनले गरेको छ । त्यसरी कसुर गर्नेलाई फौजदारी अपराध अन्तर्गत मुद्दा दायर हुने र सरकार बादी भई मुद्दा अघि बढ्ने व्यवस्था समेत ऐनमा गरिएको छ ।

उक्त ऐन मन्त्रीपरिषद्बाट पारित भई संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा प्रक्रियामा रहेको र सो ऐनबारे सामान्य छलफल भएको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रस्तावित ऐनको दफा २३ मा ‘नेपालभित्रै वा नेपालको प्रतिनिधित्व गरी नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेल सम्बद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकुल हुनेगरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलेमतो गर्न, कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न हुँदैन’ भनिएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया