अल्झियो एमाले–माओवादी एकता, माओवादी नेता भन्छन्- ९ गते एकता हुन्न

७ बर्ष अगाडि

 काठमाडौं, ३ बैशाख -नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता केही समय पछि धकेलिने अवस्थामा पुगेको छ । एकताको खाका तय गर्न गठित दुई कार्यदलले प्रतिवेदन बुझाए पनि एकताको आवश्यक तयारी नहुँदा दुई दलबीच केही विषय अझै मिलाउन बाँकी रहेकाले ९ वैशाखमा एकता घोषणा कठिन देखिएको हो ।

गत ७ फागुनमा एकता संयोजन समितिको बैठकले गठन गरेको दुई कार्यदलमध्ये संगठन तथा विधान मस्यौदा कार्यदलले एकीकृत पार्टीका कमिटीको संख्या, चुनाव चिह्न र जनयुद्ध विषयमा सहमति जुटाउन बाँकी राखेको थियो । कार्यदलले प्रतिवेदन बुझाएको १२ दिनसम्म विवादित विषयले गति लिन सकेको छैन ।

नेकपा माओवादी केन्द्रले एकताका क्रममा सम्मानजनक एकता हुनुपर्ने भन्दै ५०÷५० को अनुपातमा पार्टी कमिटीहरूको एकता हुनुपर्ने अडान राख्दै आएको छ । एमाले नेता सुभाष नेम्वाङ भने एकताको विषयमा कुनै समस्या नभएको र ९ वैशाखमा नै एकता घोषणा हुने बताउँछन् । तर, माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेल कतिपय विषयमा अझै छलफल आवश्यक देखिएकाले ९ गते एकता अलिक असम्भव जस्तो देखिएको बताउँछन्, राजधानी दैनिकमा खबर छ  ।

७ बर्ष अगाडि

प्रतिक्रिया