काठमाडौँ- विद्यालयबाहिर रहेकालाई विद्यार्थीलाई विद्यालय ल्याउने अभियानमा प्रधानमन्त्री केपी ओली नै सक्रिय भएका छन् । विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा ल्याउन प्रधानमन्त्रीदेखि मन्त्री, सांसदसम्मले एक–एक विद्यार्थी पढाउने जिम्मेवारी लिएका छन् ।
बालबालिकालाई विद्यालय ल्याउन सरकारले ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ प्रधानमन्त्रीको नेतृत्वमा भर्ना अभियान सञ्चालन गरिएको हो । कलाकारहरूसमेत भर्ना अभियानमा जुटेका छन्, नयाँ पत्रिकामा खबर छापिएको छ ।
आर्थिक अवस्था निकै कमजोर भएका र शारीरिक रूपमा अस्वस्थ भएका बालबालिका विद्यालय बाहिर छन् । बालबालिकालाई विद्यालयमा ल्याउन सरकारले अभिभावकत्व ग्रहण र अभिभावकलाई सहायता कार्यक्रमको नीतिसमेत लिएको छ । स्वेच्छिक अभिभावकत्व ग्रहण गर्नेले न्यूनतम स्टेसनरी, पोसाक र दिवाखाजाको व्यवस्था गर्नुपर्नेछ । विपन्न, गरिब, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएका वर्ग र समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्न सरकारले आह्वान गरेको छ ।
कसले कसको लिए जिम्मा ?
प्रधानमन्त्री केपी ओलीले मुगुका ठिन्लेसाँबु लामा, रक्षामन्त्री ईश्वर पोखरेलले सूर्यदेवी रोकाया र पुस्कर रोकाया, शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कार्मासाङ्जिन लामा, पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पुन्नबहादुर कुमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गुल्मीकी अस्मिता परियार, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अभिषेक नेपाली र शिखा जिरेल (दोलखा)को अभिवाकत्व लिएका छन् । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरोज नेपाली, प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले नम्रता राना तथा सभामुख अर्जुनबहादुर थापाले गंगा रोकाया र जमुना रोकाया, पूर्वसभामुख सुवास नेम्वाङले विनिता नेपाली, पूर्वमन्त्री जनार्दन शर्माले सन्तोष भियाल र कांग्रेस नेता गगन थापाले रसिका श्रेष्ठ (बूढानीलकण्ठ)को अभिभावकत्व ग्रहण गरेका छन् ।
प्रतिक्रिया